(हार्दिक बधाइ सहित)
लण्डन, मे २२

प्रथम महिला पत्रकार सगरमाथा आरोहण – २०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ। गत मंगलबार मे २२ को दिन बिहान ६ बजे चुचुरोमा पुगेका हुन् । समूहका पाँचमध्ये चार जनाले मात्र सगरमाथाको सफल आरोहण गर्न सफल भएका छन् । पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन्। आरोहण गर्नेमा स्वतन्त्र पत्रकार देउराली चाम्लिङ, नेपाल टेलीभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत र मेघा टेलीभिजनकी कल्पना महर्जन छन्।

पत्रकार Deuralee Chamling लाई सगरमाथा आरोहणका लागि गत फेब्रुवरी र अप्रिल महिनामा Fonij UK – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति महिला महासंघ यूके र पाँचथर समाज सेवा यूकेले पनि आवश्यक सहयोग राशी जुटाई नेपाल पठाएको थियो । सोही उद्देश्यका लागि चाम्लिङले अन्य बिभिन्न ब्यक्ति र संस्थाहरुबाट पनि सहयोग प्राप्त गरेकी थिइन् ।

‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित सो महिला पत्रकार समूह आरोहणमा गएको थियो। उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा फहराएका थिए। यस सिजनमा आजसम्म ३ सय ४० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरोमा पाइला राखेको राससले जनाएको छ ।