लण्डन, जुन ५ ।

बेलायतस्थित नेपाल आदिवासी जनजाति महासंघ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति महिला महासंघले संयुक्त रुपमा एक अन्तरकृया कार्यक्रम गर्ने भएका छन् । संघीय लिम्बुवान सामाजिक मञ्च यूकेको निमन्त्रणामा हाल बेलायत आएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेनसंग आदिवासी जनजातिहरुका तीन महासंघले उक्त कार्यक्रम गर्न लागेका हुन ।

पहिचानको आधारमा प्रदेशहरुको नामाकरण हुनुपर्छ भन्नेहरुको केही समय सुषुप्त रहेको आवाज नेपालमा पुन: बुलन्द हुन थालेको अवस्था छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता कुमार लिङदेनले त्यसको नेतृत्व गरिरहेका छन् ।

अन्तरक्रिया आगामी जुलाई १३ शुक्रवार साँझ पश्चिम लण्डनस्थित गोल्डेन सिप रेस्टुराँमा हुने नेफिन यूकेका सचिब मुकेन छन्त्यालले जनाएका छन् । नेफिन यूकेले उक्त दिन आफ्ना नवनियुक्त सल्लाहकारहरुसंग औपचारिक भेटघाट गर्ने र २४औं विश्व आदिवासी दिवस तयारी बैठक बस्ने पूर्व निर्धारित कार्यक्रम समापनपश्चात नेता लिङदेनसंग अन्तरकृया गर्न लागेको हो ।

अन्तरक्रियाको बिषय “संघीय सहअस्तित्व, संघीय समाजवाद, संघीय इकोनोमी र प्रदेशहरुको पुनः संख्याकरण एबं नामाकरण” रहने भएको छ ।

नेफिन यूके अध्यक्ष जंग सुनुवार, फोनिज यूके अध्यक्ष प्रमिला लाबुङ राई र नेआजमम अध्यक्ष बिमला राईले बेलायतवासी आम नेपाली जनसमुदायलाई कार्यक्रममा उपस्थित भइदिन छुट्टाछुट्टै रुपमा आब्हान गरेका छन् ।