लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), युकेले ‘फोनिज युके पत्रकारिता सम्मान–२०१८’ पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गर्ने निर्णय गरेको छ । फोनिज युके पत्रकारिता पुरस्कार छनोट बोर्डको संयोजक समितिले यही नोभेम्बर २४ तारिख, २०१८ गोर्खा भवन फार्नबरोमा बसेको बैठकले यो निर्णय गरेको हो । सम्मानको राशि ३० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

 

फोनिज युके पुरस्कार छनोट बोर्डका संयोजक तथा फ़ोनिज युकेका सल्लाहकार साथै पुरस्कार संस्थापक रेडियो बिजिडब्लुएसका मेनेजिङ डिरेक्टर गोर्खामेजर सोनाम छिरिङ शेर्पा रअध्यक्ष प्रमिला लाबुंग राई सहितको छनोट बोर्डको पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको बैठकले उक्त निर्णय गरेको हो । नेपालमा लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका आदिवासी जनजाति  पत्रकारहरुमध्ये एकजनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । यो वर्ष पाँच युवा पत्रकारको वैयक्तिक विवरण प्राप्त भएको थियो । जसमध्ये विगत १५ वर्षदेखि पत्रकारिता गर्दै आउनु भएका राजेश चाम्लिङ राईलाई यो वर्षका निम्ति छनोटमा पर्नु भएको हो ।

 

पत्रकार चाम्लिङ राई हाल गोरखापत्र राष्ट्रिय दैनिकमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ । साथै, नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिका सदस्य हुनुहुन्छ । आदिवासी जनजाति अधिकारका पक्षमा समेत कलम चलाउँदै आउनु भएका चाम्लिङ किरात राई पत्रकार संघका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष र फोनिज केन्द्रीय कार्यसमितिका पूर्वसचिव हुनुहुन्छ । उहाँको ‘किराती समुदायको परम्परागत सञ्चार माध्यम’ नामक अनुसन्धान कृति २०७४ सालमा प्रकाशित छ । सो सम्मान नेपालको राजधानी काठमाडौंमा प्रदान गरिने छ ।

 

फोनिज युकेले यसअघि सन् २०१६ को ‘फोनिज युके पत्रकारिता सम्मान’ पत्रकार गोपाल छाङ्छा राई र ‘फोनिज युके पत्रकारिता पुरस्कार’ रामविकास चौधरीलाई प्रदान गरिएको थियो । त्यसैगरी सन् २०१७ को ‘फोनिज युके पत्रकारिता सम्मान’ पत्रकार गणेशमान गुरुङ र ‘फोनिज युके पत्रकारिता पुरस्कार’ मिलन लिम्बुलाई प्रदान गरिएको थियो । यो पटकदेखि एकजनालाई मात्र सम्मान प्रदान गर्ने निर्णय भएको छ ।