लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ ।  ३० हजार रुपैयाँ राशिको सो पुरस्कार मंगलबार २९ जनवरीका दिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सिंहदरबारस्थित मन्त्रालयको सभा कक्षामा उक्त पुरस्कार प्रदान गरेका हुन् । उनी केही बर्ष देखि गोरखापत्र दैनिकमा कार्यरत छन् ।
त्यस्तै, फोनिज युकेका कार्यसमितिका सदस्य तथा बेलायतमा क्रियाशिल फोटोपत्रकार मिलन तमु  ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । दश हजार रुपैयाँ राशीको सो  पुरस्कार तमु (गुरुङ) सञ्चारकर्मी संघले स्थापना गरेको हो ।
सो पुरस्कार वितरण समारोहमा मन्त्री पुनले दुवै पत्रकारलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्र्दै, राज्यको मूलधारबाट पछाडि पारिएका समुदायको हितका लागि आवाज उठाउदै आएका जनजाति पत्रकारहरु पुरस्कृत हुनु सराहनीय विषय भएको जनाए । ‘विगतमा राज्यको धार एकखालको थियो, नयाँ संविधान जारी भएपछि फेरिएको छ,’ भन्दै पत्रकारितालाई आर्थिक पक्षसंग जोड्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपालको पत्रकारिता व्यवहारिक रुपमा समावेशी बन्न नसकेको बताए । त्यस्तै, फोनिज युके पत्रकारिता पुरस्कारका संस्थापक तथा बेलायतस्थिति रेडियो बिजिडब्लुएसका प्रबन्ध निर्देशक सोनाम छिरिङ शेर्पाले नेपाललाई लक्षित गरेर पुरस्कार प्रदान गर्दैआएको र बेलायतमा नेपाली समाजलाई त्यसले दिशा निर्देश गर्ने बताए ।
स्मरण रहोस्, फोनिज युके विगत ३ बर्ष देखि फोनिज युके पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।