काठमाडौं, गत ८ जुलाई २०२२ का दिन आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापामगरको बाहूलीबाट पत्रकार निलिफा सुब्बा र टिकाराम प्रधान नगद सहित सम्मानित भएका छन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले प्रत्येक बर्ष प्रदान गर्ने पुरस्कार तथा सम्मान यस बर्ष धरानमा रहेर लामो समय देखि विएफबिएस गोर्खा रेडियोको रिपोर्टरको रुपमा काम गर्दै आएकी सुब्बा र द काठमाडौं पोष्टमा लामो समय देखि कार्यरत प्रधानलाई प्रदान गरिएको हो ।
मुख्य अतिथी माननीय थापामगरले यस्ता सम्मान तथा पुरस्कारले ठूलो प्रभाव पार्ने भएकोले यसको महत्व रहेको बताए । त्यस्तैगरि नेपाल आदिवासी जनजाति महासंघ संघीय अध्यक्ष गेल्जे लामाले सम्मानित तथा पुरस्कृतद्धयलाई बधाई दिदै आयोजक तथा पुरस्कार ब्यवस्थापन गर्ने फोनिज युकेको प्रसंसा गरे । सम्मान तथा पुरस्कार स्थापनाको उद्देश्यको बारेमा फोनिज युकेको पूर्व अध्यक्ष विश्वास दीप तिगेलाले समाज बदल्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुने भएकोले पत्रकारहरुलाई प्रोत्साहन गर्न साथै युकेमा रहदै आएका पत्रकार र नेपालमा रहदै आएका पत्रकारहरु बीच सम्बन्ध स्थापना गर्न पनि यो सम्मान तथा पुरस्कारको स्थापना गरिएको बताए । त्यस्तैगरि फोनिज युकेको सल्लाहकार नगेन्दराज नेम्बाङले फोनिज युकेकी अध्यक्ष गोमा रानामगर, संरक्षक तथा पूर्व सौजन्यकर्ता रिटायर्ड मेजर छिरिङ शेर्पा लगायत सिंगो समितिको तर्फबाट शन्देश सुनाए ।
फोनिज केन्द्रको सिफारिसमा प्रदान गरिएको सम्मान तथा पुरस्कार जनही २५ हजार र प्रमाणपत्र रहेको छ । यस अघि गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहमगर, राजेश चाम्लिङ, टेकराज थामीलाई प्रदान गरि सकिएको छ ।
फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राईको अध्यक्षतामा आयोजित वितरण समारोह फोनिज केन्द्रीय समितिको कार्यालयको सभाकक्ष एवं तमु बौद्ध सेवा समितिको हल अनामनगरमा आयोजित कार्यक्रमलाई संघीय महासचिव मिलन लिम्बुले संचालन गरेका थिए ।