लण्डन , ३ जुलाई ।

बरिष्ठ साहित्यकार, लेखक तथा विश्लेषक खगेन्द्र संग्रौला बेलायत आइपुगेका छन् । हिजो राती १० बजे कतार एअरवेजबाट हिथ्रो बिमानस्थलमा अवतरण भएका संग्रौलालाई स्वागत गर्न नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन) यूके अध्यक्ष जंग सुनुवार र बरिस्ठ उपाध्यक्ष नरेश काङमाङ त्यहाँ पुगेका थिए । त्यस्तै नेपाल आदिवासी जनजाति महिला महासंघ अध्यक्ष बिमला राई, महासचिब बसुन्धरा याक्खा राई र कोषाध्यक्ष सुशिला राई पनि बरिष्ठ लेखकलाई स्वागत गर्न त्यहाँ पुगेका थिए ।

समसामयिक बिषयमा तिखो व्यंग्य र टिप्पणीले चर्चित संग्रौला ट्विटर र फेसबुक जस्ता सामाजिक संजालहरुमा पनि चर्चित छन् । उनलाई ‘कुन्सांग काका’ नामले पनि चिन्ने गरिन्छ । संग्रौलाले आदिवासी जनजाति, शोषण, उत्पीडिन र पहिचानको पक्षमा कलम चलाउँदै आएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ यूके, नेपाल आदिवासी जनजाति महिला महासंघ यूके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेले आउंदो आइतबार अगस्ट ५ मा संयुक्त रुपमा मनाउने २४ औं विश्व आदिवासी जनजाति दिवस समारोहमा संग्रौला विशेष अतिथिका रुपमा बेलायत आइपुगेका हुन् ।

अल्डरसटको द प्यालेसमा आयोजना हुने “अधिकार प्रतिनिधित्व र स्वशासनको लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताको लागि संविधान संशोधन हाम्रो साझा अभियान” विषयक अन्तरक्रिया कार्यक्रममा संग्रौला सहितका अरु केही वक्ताहरुले बोल्ने कार्यक्रम छ ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि सहभागी हुनेछन् ।

लेखक संग्रौला २ साता बेलायतमा रहने कार्यक्रम छ । यस क्रममा उनले पांचथर सेवा समाज यूकेसहित बेलायतस्थित विभिन्न भूपू गोर्खाका संस्थाहरुले गर्ने कार्यक्रमहरुमा पनि भाग लिनेछन् ।