बेलायतमा आदिवासी जनजाति महिलाहरुको एक समुह किराँत सुनुवार महिला समाज यूकेले १०८औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । गत शनीबार मार्च ३ तारिखको दिन फार्नबोरोको स्काउट क्लबमा आयोजित कार्यक्रममा बेलायतमा बसोबास गरिरहेका किराँती सुनुवार समाजका महिलाहरु लगायत सुनुवार समाज र जनजाति समाजका अन्य अगुवाहरुको सहभागिता रह्यो ।

कार्यक्रमको औपचारिक सत्रको अध्यक्षता सुनुवार महिला समाजकी अध्यक्ष श्रीमती मिना देवी सुनुवारले  र कार्यक्रम सञ्चालन सचिब सुमिरा सुनुवारले गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके अध्यक्ष श्रीमती प्रमिला लाबुङ राईले मन्तब्यको क्रममा नारीहरुले पुरुषहरु सरह अधिकार पाउनपर्छ भनी थालेको आन्दोलनले सवा एक शताब्दि पुग्न लाग्दा पनि पूर्णता नपाइसकेको सन्दर्भ प्रस्तुत गरिन् । उनले नारीले आफ्नो क्षेत्राधिकारभित्र रहेर लैंगिक समानताका लागि जागरुक भइरहन प्रेरित गर्दै लैंगिक समानताको आन्दोलन मातृसतात्मक समाजको स्थापना गर्नु नभएर लिंगभेदविहिन समतामुलक समाजको निर्माण गर्नको लागि भएको जिकिर गरिन् ।

कार्यक्रममा किराँत सुनुवार महिला समाज यूकेले सत्तरी बर्ष उमेर पार गरेका बरिष्ट वयोवृद्द आमाहरु र बेलायतको प्रहरी सेवामा सेवारत पुस्पा सुनुवार लगायत अन्य सफल महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गर्यो ।

सन् २०१३ मा स्थापना भए यता किराँत सुनुवार महिला समाज यूकेले नारी दिवस मनाएको यो प्रथम पटक हो र आगामी बर्षहरुमा यसलाई निरन्तरता दिने कुरा समाजकी अध्यक्ष श्रीमती मीना देवी सुनवारले जनाइन् ।

यसै बिच थरक नेपाली महिला समाजले पनि आगामी सप्ताहान्तमा १०८औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ । एसेक्सको ग्रेजस्थित चाडवेल भिलेजमा आइतवार ११ मार्चको दिन कार्यक्रमको आयोजना गरिएको थरक नेपाली महिला समाजकी अध्यक्ष श्रीमती मिना देवी सुनवारले बताइन् ।