फार्नबोरो, मार्च २४ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको वर्तमान कार्यसमितिको दोश्रो बैठक बस्यो । गत शनिवार मार्च २४ को दिन फार्नबोरोका गोर्खा प्यालेस रेस्टुरेण्टमा बसेको बैठकमा अधिकांश सल्लाहकारहरुको पनि उपस्थित रह्यो ।

बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । तिमध्ये फोनिज यूकेले यस बर्षदेखि फोनिज यूके पत्रकारिता पुरस्कार राशीमा बृद्दी गरी तीस हजार रुपैयाँबाट पचास हजार रुपैयाँसम्म पुर्याउने लक्ष्यका साथ १७ सय पाउण्डसम्मको अक्षय कोष स्थापना गर्ने भएको छ । महासंघका सल्लाहकार तथा रेडियो बीजीडब्ल्यूएसका निर्देशक मेजर (रि.) सोनाम छिरिङ शेर्पाले प्रायोजन गर्दैआएको बार्षिक तीसहजारमा रुपैयाँमा फोनिज यूकेका सल्लाहकारहरु र सदस्यहरुबाटै संकलन गरी पुरस्कार राशीमा थप गर्ने निर्णय बैठककले गरेको हो ।

तर फोनिज यूके पत्रकारिता पुरस्कार प्रत्येक बर्ष दुई जनालाई प्रदान गर्दैआइरहेकोमा यस बर्षदेखि प्रोत्साहनस्वरुप एक जनालाई मात्र दिने निर्णय बैठककले गरेको छ । पुरस्कार छनौटका लागि नयाँ समितिमा मेजर रि. सोनाम छिरिङ शेर्पा, नरेश खपाँगी, प्रमिला राई, खुशी लिम्बु र गोमा राना रहेका छन् ।

त्यस्तैगरी फोनिज यूकेका महासचिब लगायत अन्य सदस्यहरुको आवेदनहरु  आजसम्म पनि ‘बिचाराधिन रहेको’ भनी नेपाल पत्रकार महासंघ यूकेले निर्णय नगरिरहेको सन्दर्भलाई लिएर ति आवेदनहरुमाथि चाँडोभन्दा चाँडो निर्णय गरियोस भनी फोनिज यूकेले नेपाल पत्रकार महासंघ यूकेलाई एउटा अनुरोध पत्र पठाउने भएको छ ।

बैठकमा नेपाल पत्रकार महासंघ यूकेको आगामी अधिबेशनमा कतिपय एउटै पदमा फोनिज यूकेकै दुई वा दुईभन्दा बढी सदस्यहरुको आकांक्षा दर्ज भएपछि सल्लाहकारहरुले पदका आकांक्षीहरुलाईे त्यसो नगर्न सल्लाह दिए । यस बिषयलाई हल गर्न बैठकले सल्लाहकार मे. रि. सोनाम छिरिङ शेर्पालाई संयोजक तोकेको छ । शेर्पाले कार्यसमितिसंग परामर्श गरी आवश्यक्ता अनुरुप अन्य सदस्यहरु चयन गर्नेछन् ।

नियुक्ति

बैठकले महासचिब खुशी लिम्बुलाईफोनिज यूकेको प्रवक्ताको पनि जिम्मेवारी दिएको छ ।

त्यस्तैगरी नेपाल पत्रकार संघ बेलायतका अध्यक्ष नरेश खपांगी, पूर्व प्राध्यापक सुमाया राई, नागरिक पत्रकारिताका बिज्ञ डा. नरेशचन्द्र राई र पर्यावरण क्षेत्रमा सशक्त रुपमा कलम चलाउने बिजय हितानलाई सल्लाहकारमा नियुक्त गरी सल्लाहकारहरुको संख्या थप गरेको छ । त्यस्तै नाउ नेपाल डट कमकी संचालिका एबं सम्पादक श्रीमती बिमला लक्सम लिम्बुलाई कार्यसमितिको सदस्यमा मनोनित गरिएको छ ।

बाँकी निर्णयहरुमा सदस्यता शुल्क २० पाउण्ड कायम गर्ने, आगामी सेप्टेम्बर ८ मा महासंघको बार्षिक साधारण सभा गर्ने र नोभेम्बर महिनाको अन्ततिर च्यारिटी डिनर गर्ने भएको छ ।

बैठकमा कार्यसमिति लगायत सल्लाहकारहरु एकेन्द्र गुरुङ, सोनाम छिरिङ शेर्पा, विस्वासदीप तिगेला, दुत पुन, पूर्ण गुरुङ र बिमला सेने उपस्थित थिए ।

फोनिज यूकेको कार्यसमितिको अर्को बैठक जुलाई ७ मा बस्नेछ ।